श्रीपशुपतिनाथ क्षेत्रको सुरक्षा बारे मंगलवार बिहान सुरक्षा निकायका प्रतिनिधिहरु र पशुपति क्षेत्र विकास कोष बिचको छलफल कार्यक्रम सम्पन्न भएको छ । महत्वपूर्ण चाडपर्वहरु नजिकिँदै गर्दा पशुपति क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै विशेष योजनाका साथ अघि बढ्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले सुरक्षा निकायलाई अनुरोध गर्नुभयो । उहाँले भक्तजनहरुलाई पशुपति क्षेत्रमा सुरक्षित अनुभूति गर्न र मन्दिरको सुरक्षा संयन्त्रलाई चुस्त बनाउन प्रविधियूक्त सुरक्षा प्रणाली लागु गर्ने योजना रहेको बताउनुभयो । मन्दिर परिसरमा सीसी क्यामेरा अपडेट, सुरक्षाकर्मीले प्रयोग गर्ने मेटल डिक्टेटर मर्मत लगायत सुरक्षा उपकरणहरुलाई चालु अवस्थामा राख्न समेत निर्देशन दिनुभयो ।
उहाँले पशुपति मन्दिर क्षेत्र भित्र सवारी साधनको अब्यवस्थित आवतजावत तथा मोटरसाईकल हराउने जस्ता समस्या हटाउन तत्काल ब्यवस्थित रुपमा स्मार्ट पार्किङ्गको तयारी भईरहेको जानकारी दिनुभयो । आपराधिक क्रियाकलाप तथा लागुऔषधको अवैध ब्यापार हुन सक्ने जस्ता समस्यामा सचेत रहन डा.थापाले सुरक्षा निकायलाई ध्यानाकर्षण गराउनुभयो ।
पशुपति क्षेत्रभित्र मापदण्ड विपरीतका अब्यवस्थित पसल, टहरा लगायत पशुपति क्षेत्रको सौन्दर्य मास्ने कुनैपनि सामाग्री हटाउने योजना निर्माण भईसकेको समेत जानकारी दिनुभयो । छलफलमा सुरक्षा निकाय अन्तर्गत महानगरिय प्रहरी वृत गौशालाका प्रहरी नायव उपरीक्षक केशव भट्टराई, महानगरिय प्रहरी पहरागण पशुपतिका प्रहरी निरीक्षक टिका बहादुर कार्की, सशस्त्र प्रहरी बल पशुपति वेसका प्रहरी निरीक्षक लोकबहादुर तामाङ, ट्राफिक प्रहरी गौशालाका प्रहरी निरीक्षक सुजित कुमार देवकोटा, पशुपति क्षेत्र भित्रको पर्यटक प्रहरी नायव निरीक्षक रोशनकुमार शर्मा, काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराई लगायत पशुपति क्षेत्र विकास कोषका आन्तरिक सुरक्षाका प्रमुखहरुको उपस्थिति थियो । उहाँहरु सबैले पशुपति क्षेत्रको सुरक्षामा कमी हुन नदिन आफ्नो तर्फबाट हरदम लागिपरेको बताउनुभयो । पशुपति क्षेत्रको सुरक्षा रणनितिलाई अझ चुस्त बनाउन आगामी दिनमा सुरक्षा निकाय र सरोकारवालाहरु बिच कार्यशाला गोष्ठी आयोेजना गरि निश्चित योजना समेत निर्माण गरिने सदस्य सचिव डा.थापाले बताउनुभयो ।
श्रीपशुपतिनाथ समस्त हिन्दुहरुको आस्थाको केन्द्रविन्दु हो । मन्दिर क्षेत्र भक्तजनको मनको उपचार गर्ने स्थान पनि हो । मन्दिर क्षेत्रमा आनन्द र शान्त अनुभव गर्न सक्नुपर्छ ,त्यसैले मन्दिर परिसरको सुरक्षा र सरसफाईलाई आफुले पहिलो प्राथमिकतामा राखि कार्यायोजना बनाएको पनि डा.थापाले जानकारी दिनुभयो ।