भदौ २४, २०८१, सोमबार
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.gov.np
महाशिवरात्री

महाशिवरात्री

महाशिवरात्री शैव एवं शाक्त लगायत सबै हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजीको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र रात्रीकारूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको कल्याण गर्दै हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो रात्रीका रूपमा लिईन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीको व्रतमा भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी “ॐ नमः शिवाय“ मत्र जप गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

 

ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पवमा निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा, कीर्तन शिवलिङ्गको पूजा अर्चना मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वहरुको राजा भनिन्छ । शिवरात्री पर्वको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ । शिवरात्रीमा ठूला साना शिवमन्दिरहरूमा धुमधामसँग पूजा पाठ सहित, दर्शन गर्ने परम्परा रहेको छ । शिवरात्री पूजाको व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ, अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा समेत मनाउने गरेका छन् ।

सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्री कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भनिन्छ । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव नृत्य गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्री भनिन्छ । तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन् । उनको रूप बडो विचित्रको छ; शरीरमा भस्म लेपन, गलामा सर्पहरूको माला, कण्ठमा विष, जटाहरूमा जगत तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ । साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने,  अमङ्गलरूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्ने शिव श्रीसंपत्ति आयु आरोग्यका दाता मानिन्छन् ।

 

महाशिवरात्री विशेष पूर्व तयारी संचालन—समापन ।
(भिडियो हेर्नका लागि QR कोड स्क्यान गर्नुहोस)