भदौ २४, २०८१, सोमबार
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.gov.np
तिहार

तिहार

दशैँ पछि सबैभन्दा ठूलो पर्व तिहार हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथि भाईटीकासम्म (पाँच दिन) पर्दछ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दु धर्मवलम्बीहरुले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्द ‘त्योहार’ शब्दबाट अपभ्रंश हुँदै तिहार हुँदै बनेको अनुमान लगाइन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले  धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विस्वास छ । त्यस घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोवर्धन (गोरु) र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी नेपालमा तिहार मनाउने गरिन्छ । भारतमा र अन्य हिन्दु धर्मवलम्बी भएका मूलुकमा यो पर्व दिवालीको नामले समेत प्रसिद्घ छ ।