राष्ट्रिय चाड मानिने बडादशैँ हिन्दु धर्मवलम्बीहरुले आश्विन शुक्ल प्रतिपदाका दिनदेखि विजया दशमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी मनाउने गर्दछन् । दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरुको हातबाट टीका प्रसाद ग्रहण गरेर विशेष रुपमा कोजाग्रत पुर्णिमासम्म यो चाड मनाइन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चम्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायानी, कालरात्री, महागौरी, सिद्घिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरी यो चाड मनाइन्छ । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाउने चलन छ । आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथि यस पर्वको मुख्य दिन हो । भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा लिईन्छ ।
दशैँ पर्वमा उच्चतम शुभ तिथिहरु पर्दछनः चैत्र शुक्ल एवं कार्तिक शुक्लको प्रतिपदा तिथि । यी दिनहरुमा हिन्दुहरु नयाँ काम सुरु गर्दछन् शस्त्रको (हतियार) पूजा गर्दछन् । प्राचीन कालमा राजाहरु यस दिन विजयको प्रार्थना गरेर युद्ध यात्रामा प्रस्थान गर्दथे । यस दिन ठाँउठाँउमा मेलाहरु लाग्थे । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ । रावणको विशाल पुतला बनाएर जलाईन्छ । विजयादशमी भगवान् रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा उत्सवको रुपमा, दुवै रुपमा यो शक्तिपूजाको पर्व हो, शस्त्र पूजनको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव मनाइन्छ । दसैँ पर्वले दश प्रकारका पापहरु (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा हरेक मानवलाई दिन्छ भन्ने विश्वास रही आएको छ ।
बडा दशैँको अवसरमा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यूद्वारा
गुहेश्वरी दर्शन पीठको पूजा आराधना ।
(भिडियो हेर्नका लागि QR कोड स्क्यान गर्नुहोस)