घोडे जात्राको मूल नाम पाँहा चल्हे हो । पछिल्लो समय पाँहा चल्हेलाई घोडे जात्रा भनिदै आए पनि पुनः पाँहा चल्हे भन्ने चलन स्थापित हुन थालेको पनि छ । यो काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाका रुपमा मनाइन्छ । त्यसमा पनि कुनै समय एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौँको मुटुमा रहेकोे टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले यो पर्व अवलोकन गर्नु यो जात्राको विशेषता हो । यो पर्वका दिन टुँडिखेलमा नेपाली सेनाले विशेष घोडचढी कला प्रदर्शन गर्दछन् । कुनै समय काठमाडौं बासीमा मात्र सीमित यो जात्रा अहिले राष्ट्रिय महत्वका रुपमा मनाइन्छ ।
यो जात्रा परापूर्वकालमा टुँडिर नामक दैत्यलाई काठमाडौँबाट हटाउने अभियानमा पाएको विजयको रूपमा मनाइन्छ। यहाँ दौडने घोडाको टापले त्यस टुँँडिर आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । यस जात्राले देशमा सुमंगल ल्याउने जनविश्वास रहिरहेको छ ।