हरेक वर्षको फाल्गुन शुक्ल पूर्णिमा मा मनाइने हिन्दुहरुको प्रमुख चाड हरुमध्येको एक चाड हो होली । यो रङ्गहरुको चाड हो । होलीको दिन मानिसहरु एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरु दलेर रङ्गीन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होलि खेल्ने दिन भन्दा एक दिन पहिला रातमा होलीका दहन गरिन्छ । राती होलीकाको दहनपछि बिहान पानिमा रङ्ग घोलेर एक अर्कामाथि छ्यापा छ्याप गरी खेल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्घवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवतीहरु गीत गाउँदै नाच्दैँ होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर मान्छे एकअर्कासित एक अद्वितीय सम्बन्ध स्थापित गर्दछन् । हिन्दु संस्कृति अनुुसार यसको इतिहास त्रेतायुगसँग जोडिएको छ । त्रेतायुगमा भगवान विष्णुका परम भक्त प्रह्लादलाई हिरण्यकशिपुले आफ्नै बहिनी (प्रह्लादकी फुपु) होलीकाले प्रल्हादलाई आगोमा भष्म पार्न लगाउँदा होलीका आफैं आगोमा भष्म भएकी थिइन र विष्णु भक्त प्रह्लादलाई आगोले जलाउन सकेको थिएन । त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु भएको मानिन्छ । यो चाडले वसन्त ऋतुको आगमनको संकेत गर्दछ । होली पर्व घरपरिवार साथीभाइ आपसमा मिलेर पहाडदेखि तराई र गाउँदेखि सहरसम्म फागुन शुक्ल अष्टमीको दिन खेलिन्छ काठमाडौँको वसन्तपुर दरबार अगाडि – विशेष रुपले अध्यात्मिक तबरले सजाइएको (लिङ्गो) गाडेपछि होली सुरु हुन्छ । फागुपर्व पूर्णिमाको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि समाप्त भएको मानिन्छ ।