डा. मिलन कुमार थापा
सदस्य-सचिव
भावेन लभते सर्व भावेन देवदर्शनम् ।
भावेन परमं ज्ञानं तस्मात् भावावलम्बनम् ।।
करोडौं सूर्य समान अत्यन्त तेजिलो आभा, करोडौं उदायमान चन्द्रसद्धश शितालताले सुसम्पन्न सुवर्णजस्तो पहेंलो वर्णले युक्त, शान्त, विष्णुको मुहार, दक्षिणतर्फ कालो वर्णको दाह्रावाल भैरवको मुहार, पश्चिम दिशामा दुग्ध वा कुन्द पुष्प समान सेतो वर्णात्मक मुखार विन्द, उत्तरतिर सेतो गोरो वर्णको गौरीशंकर उभयात्मक मुखमाथि दीपकको ज्वालास्वरूप ज्योतिर्मय मुख, त्यसमा श्रीचक्रराजको चिह्न, नाभिमा अत्यन्त प्रज्ज्वल कालाग्नि रुद्रको मुहार, प्रत्येक शीरमा जटाजूट, चन्द्रमाको अलंकार, सर्पका गहना, रुद्राक्षमाला र मुण्डमालाले सुशोभित, मुण्डमाला, रत्नैरत्नका गहना, पादतलसम्म समलङ्कृत विलम्वपत्रको माला, प्रत्येक शरीरमा दुई दुई वरदहस्त, एक हातमा वेद, अर्कोमा अभय दान, यसरी आठ हात, सधैं सोह्र वर्षका युवा दर्शन, आकाशमा शून्य, शून्यमा पद्म, त्यसमाथि बसेका परब्रह्म सच्चिदानन्द स्वरूप सर्वदा षोडशवर्षदेशीय मुखाकृतिको दर्शन, पाशुपत । यसरी पशुपति तात्विक रूपमा निर्गुण ब्रह्म नै हुनुहुन्छ । यसैबाट साधक साध्यस्वरूप भएर साधक र साध्यमा तादात्म्य हुन सक्छ ।
तन्त्रमा साधनाका दृष्टिले तीन प्रकारका पाशुपत विद्याको प्रतिपादन गरिएको पाइन्छ, लघुपाशुपत विद्या, मध्यमपाशुपत विद्या र महापाशुपत विद्या । लघुपाशुपत विद्यामा पशुपतिको ध्यान मध्याह्न कालका सूर्यको जस्तो प्रचण्ड र उज्ज्वल कान्ति, शिरमा चन्द्रमा, भयंकर अट्टहास, त्रिनेत्र, भुजङ्गभुषण, जटाजूट, जुँघा, दाह्री, चार हातमा त्रिशूल, मुंग्रो, खड्ग र शक्तिस्वरूप हतियार भएको दाह्रा, भयंकर दिव्य अस्त्ररूप पशुपतिमा केन्द्रित हुने उल्लेख छ । मध्यम पाशुपत विद्यामा पशुपतिको ध्यान गर्दा पाँच मुख, दश हात, प्रत्येक मुखमा तीन आँखा, अग्निको ज्वालाजस्तो प्रचण्ड कान्ति, जटाजूट र जुँघा, दाह्री, भयंकर दाह्रा भएको चर्चा गरिएको छ । उहाँले खड्ग, वाण, माला, त्रिशुल, शक्ति, परशु, खट, धनु, कुण्डिका, ब्रम्हदण्डलगायतका आयुध हातमा धारण गर्नुभएको छ । अनेकौ गहन, सर्पको आभूषण, स्फटिकसमान स्वच्छ आभा, शान्त स्वरूप भएका संसारका रक्षक आराध्यदेव भगवान श्री पशुपतिनाथ विराजमान हुनुहुन्छ ।
आराध्यदेव भगवान श्री पशुपतिनाथ सम्पूर्ण दिव्य शक्तिका अधिष्ठान हुन् । पाशुपत क्षेत्रमा शिवको मात्र बास नभएर अन्य देवीदेवताको पनि बास रहने धार्मिक मान्यता छ । अतः पाशुपत क्षेत्र विश्वका सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुकोे आस्थाको केन्द्रविन्दुको रुपमा रहेको छ । पशुपतिनाथको पावन भूमि नेपालीहरुका लागि मात्र नभई विश्वकै सम्पूर्ण मानव समुदायको सांस्कृतिक तथा पुरातात्विक धरोहरका रूपमा रहेको छ । पाशुपत क्षेत्र सिङ्गो नेपालको परिचायक क्षेत्र हो । विगतदेखि वर्तमानसम्म इतिहास, कला, धर्म, परम्परा, समाज, साहित्य र संस्कृति सबैको अवशेष यसै पाशुपत क्षेत्रमा पाउन सकिन्छ ।
डा. घनश्याम खतिवडा
कार्यकारी निर्देशक
पाशुपत क्षेत्रम् परमं पवित्रम् !!
वर्तमान विश्व पूर्वीय दर्शनको समूल आस्था अङ्गीकार गरी अघि बढ्ने प्रस्थान विन्दुमा छ । यो पुनर्जागरणको मूर्त अभिव्यक्ति हो । व्यबहार अवलम्बन हो । विश्वजागरणको एक शंखघोष हो ।
हरेक आस्थाले चेतनाको दियो बालेर मानव मनमा अनुयायित्व सिर्जना गर्दछ । अनुयायित्वको क्रमिक पृष्ठभूमिले भविष्यको राजमार्ग निर्माण गर्नेछ । धर्म, अर्थ, काम, मोक्षबाट स्वधर्मानुष्ठानमा प्रेरित भई सगर्व विश्व कर्ममञ्चमा ज्ञानगंगाबाट विज्ञान को चरम सगरमाथा निर्माण गर्न हाम्रा प्राच्य ऋषिमुनिहरुले गरेको तप ब्रम्हाण्डकै सर्वश्रेष्ठ जीवन राजमार्ग हो, जहाँ अविचलित एवं भयरहित भएर जीवन चलिरहन्छ । जागरित चेतना कर्ममा प्रतिविम्बित हुन्छ । मानवता सेवा र कर्मको त्रिवेणीलाई आदिदैविक, आदिभौतिक एवं आध्यात्मिक शक्ति साधन गरी मूर्त बनाउन हामीलाई चार वेद र अठार पूराणहरुले मुक्त कण्ठले मार्ग प्रशस्त गरेका छन् ।
ब्रमाण्डबाट सृजित समग्र सृष्टिप्रपञ्चका आदि नायक, कल्याणतत्वको अमूर्त भावाभिव्यञ्जनाका अजस्र स्रोत हुनुहुन्छ भगवान शिव । भगवान शिवलाई हामी समग्र प्राणीहरुका सम्बर्धक, पालनकर्ता, संहारकर्ता एवं सृष्टिकर्ताका मुख्य देवकारुपमा मनमनमा विराजमान गराउँदछौं । त्यसैले हामी सधैँ स्वस्थ छौं, सभ्य छौं र सधैँ सुमार्गगामी बन्ने कोशिशमा प्रयाशरत छौं ।
आज भगवान शिवको निरन्जन निराकार स्वरुपले मानवमात्र नभई समस्त चराचर जगतलाई कल्याणदायक वरद मुद्रा प्राणीहरुमा सञ्चरण नेपाल राष्ट्रदेवको रुपमा पशुपतिनाथ स्वरुप महा ज्योतिर्लिङ्गले समस्त मानवलाई सदा दर्शन दिईरहनु भएको छ । उहाँकै प्रताप हो वर्तमान विश्व ब्रमाण्डमा भइरहेका लीलाहरु । हामीले पवित्र पाशुपत क्षेत्रमार्फत विश्व ब्रमाण्डमा धार्मिक भाव जागरण गर्दै हिन्दुत्वको सिन्धुमा सबैलाई विचरण गर्ने सन्देश सम्प्रेषण गरिरहेकोले आज नेपालमा विश्वका करोडौं करोड हिन्दुहरु पशुपतिनाथको दर्शनार्थ आउने गर्दछन । यही आगमन बाटै पाशुपत दर्शनको प्रचार तीव्र भई ब्रमाण्डमा शिवभावबाट धार्मिक एवं आध्यात्मिक पुनर्जागरण आएर नेपालमा धार्मिक एवं अध्यात्मिक पर्यटनको विकास तिब्र हुनेछ भन्ने विषयमा दुईमत नहोला । पशुपति क्षेत्र विकास कोष पवित्र पाशुपत् क्षेत्रको आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक विकासमा सदा प्रतिवद्ध रहेको छ ।