कार्तिक ०४, २०७७, मंगलबार
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.org.np
जात्राहरु

जात्राहरु

पाशुपत क्षेत्रमा मनाइने जात्राहरू :

मातातीर्थ औंसी स्नान : वैशाख कृष्ण औंसीमा वाग्मती किनारमा अवस्थित मातृगङ्गा तीर्थ स्नान गरी माताको नाममा श्राद्ध, तर्पण गरेमा पुण्य हुने हिमवत्खण्डमा वर्णन भए अनुरुप वत्सलेश्वरी मन्दिर पूर्व वाग्मती किनारको मातृगङ्गा तीर्थमा स्नान गरी माताको नाममा तर्पण, श्राद्ध गर्ने प्रचलन ।

 

बनकाली जात्रा : वैशाख शुक्ल तृतीया, भूवनेश्वरी मन्दिरमा रहेको बनकालीको प्रतिमूर्ति बनकालीमा लगी पूजा, पशुपति गुठी गोश्वारा, अमालकोट तथा दुनियाद्वारा पूजा गरी साँझ खटजात्रा गर्ने प्रचलन रहेकोमा हाल खट जात्रा बन्द ।

 

वाग्मती जात्रा : वैशाख शुक्ल अष्टमी, ने.सं. ८५५ मा राजा जगज्जय मल्लको पालामा पशुपति  आगमघरका साम्बसदाशिव भट्टलाई अधिकार दिइएको, वाग्मती जात्रामा कार्य विनायक, कटुवाल दहदेखि वाग्मती नदीका किनारमा अवस्थित विभिन्न तीर्थ स्नान तथा पूजा गर्दै वाग्द्वार पुगी, साँखुमा हवन गरी, चाँगु हुँदै गुह्येश्वरी, पशुपतिको पूजा गरी अन्त्यमा रुद्रगाडेश्वरमा पूजा गरी समापन ।

 

त्रिशूल जात्रा : आषाढ कृष्ण अष्टमी, रानीबन÷नागार्जुनका राक्षसले देउपाटनका मानिसलाई दुःख दिएकाले बन्धदत्त आचार्यको सहयोगमा राक्षसका सन्तानलाई त्रिशूलमा उनेको, बन्धुदत्तको पुत्रलाई भूवनेश्वरी देवीको माग अुनसार बलि दिएको आदि लोकोक्ति अनुरुप तीन कुमार, दुई कुमारीलाई हाल तीनवटा खट (जयवागेश्वरी, वज्रघर, मङ्गलागौरीबाट निकालिने) मा उनेर देउपाटन परिक्रमा गराइने । भाषा वंशावली अनुरुप अमर मल्लले तथा देवमाला वंशावली अनुरुप राजा नरेन्द्र मल्लले नौ प्रकारका रथ बनाई जात्रा गराउने प्रचलन चलाएको वर्णन ।

 

गङ्गामाई जात्रा : आषाढ शुक्ल सप्तमी, पशुपतिनाथ मन्दिरमा रहेको गङ्गाको मूर्तिलाई वाग्मती किनारमा अवस्थित गङ्गा मन्दिर अगाडि पूजा तथा हवन गरिने, साँझ पख हनुमानढोका राजदरबारबाट आएका शार्दुल गङ्ग सिपाहीले गङ्गाको मूर्ति र राजाको प्रतीक स्वरुप खड्ग सहित रथमा राख्दा राजकीय सम्मानका साथ सलामी दिई जात्रा गरिने ।

 

घण्टाकर्ण चतुर्दशी, गठेमङ्गल : श्रावन कृष्ण चतुर्दशी, देउपाटन क्षेत्रमा घण्टाकर्णको प्रतीक बनाई साँझ वाग्मतीमा लगी सेलाइने । उक्त दिन वज्रेश्वरी÷पिङ्गलस्थानमा विशेष पूजा ।

 

गुँलाधर्म : श्रावन शुक्ल प्रतिपदादेखि भाद्र कृष्ण औंसीसम्म देउपाटन क्षेत्रका बौद्ध तथा हिन्दु धर्मावलम्बीहरू बाजा बजाई विहार तथा चैत्यको परिक्रमा गर्दछन् । सो क्रममा एकादशी, औंसी, पूर्णिमा, अष्टमी, चतुर्दशी आदि तिथिमा पशुपतिनाथको पनि परिक्रमा गरिने ।

 

गाईजात्रा : भाद्र कृष्ण प्रतिपदा, आफन्त परलोक भएको वर्ष तिनको मोक्षका कामना गरी देउपाटन क्षेत्रका मानिसहरूले आइमाई दिवंगत भएमा गाई वा गाईको भेषमा मानिस तथा लोग्ने मानिस दिवंगत भएमा जोगीको भेषमा समुहगत भई लाखेसहित वा व्यक्तिगत रुपमा देउपाटन क्षेत्रका साथै पशुपतिनाथ मन्दिर प्राङ्गण घुमाउने, गाईजात्रा भकुंटोल तथा जयवागेश्वरी नवालीटोलबाट निकालिने प्रचलन ।

 

खड्ग जात्रा : भाद्र कृष्ण द्वितीया, असुर माथिको विजयको प्रतीक वा परापूर्वकालमा युद्ध हुँदा आइमाईलाई मार्न हुन्न भन्ने मान्यता अनुरुप बच्न लोग्ने मानिसले आइमाईको भेष धारण गरेको किंवदन्ती अनुरुप भकुंटोल तथा जयवागेश्वरीबाट लोग्ने मानिसले आइमाईको भेषमा हातमा खड्ग तथा पात्र लिई जात्रा गरिने ।

 

रोपाइँ जात्रा : भाद्र कृष्ण तृतीया, लाग्ने मानिसले आइमाईको भेष धारण गरी खेतालालाई खाजा बाँडेको अभिनय गर्ने तथा लोग्ने मानिस तथा केटाकेटी देउपाटन क्षेत्रमा रोपाइँ गरेको अभिनय गर्दै जात्रा गरिने, घोडचढी मानिसले जात्रामा रौनकता थप्ने, परम्परागत कृषि जीवनको झल्को, भकुंटोल, जयवागेश्वरी र तिलगङ्गाबाट जात्रा निकालिने ।

 

कृष्ण अष्टमी : भाद्र कृष्ण अष्टमी, पशुपतिनाथ मन्दिर प्राङ्गण तथा देउपाटनका नवअमरकान्तेश्वर, गुह्येश्वरी र जयवागेश्वरीबाट भगवान कृष्णलाई खटमा राखी जात्रा निकालिने ।

 

उपाको वनेगु : भाद्र शुक्ल द्वादशी (वामन द्वादशी), वर्षदिन भित्र परलोक भएका पितृहरूको मोक्षको कामना गरी हातमा धूप लिई रातको समयमा विभिन्न देवी देवताका मन्दिरमा बत्ती बाल्दै हिड्ने, दक्षिणामूर्ति, गौरीघाट, गुह्येश्वरी, तिलगङ्गा, पशुपति, वाणेश्वर, मैतीदेवी, ज्ञानेश्वर, भण्डारेश्वर, चावहिल हुँदे जयवागेश्वरीमा आई समापन, नसक्नेले तिलगङ्गा वामन मूर्तिको पूजा गरी बत्ती बाल्ने ।

 

इन्द्रजात्रा : भाद्र शुक्ल चतुर्दशी, पाशुपत क्षेत्रमा वामन द्वादशीका दिन कुलानन्द झा सत्तलको पश्चिम डबली, चौबाटो भीमसेनस्थान उत्तर, जयवागेश्वरी नवदुर्गा सत्तल नजिक इन्द्रध्वज ठड्याइने, वि.सं. २०३५ देखि वत्सलेश्वरी मन्दिर प्राङ्गणबाट इन्द्रको धातुको मूर्ति रथमा राखी जात्रा गरिने प्रचलन ।

 

दिपंखा जात्रा : आश्विन शुक्ल पूर्णिमाका दिन रेवती नक्षत्र, हर्षण योग, संक्रान्ति तथा आइतबार पर्न गएमा पाटन इलने बहालमा रहेको साँढे कराउने विश्वास र सो कराए पछि जात्रा शुरु, उपत्यकाका साँढे (नन्दी) अवस्थित मन्दिरहरूमा परिक्रमा गरिने, गुह्येश्वरी, पशुपति, जयवागेश्वरी परिक्रमा गरी अन्य क्षेत्र हुँदै पुनः पाटन इलनेमै गई समापन ।

 

चन्द्र विनायक तथा भैरव जात्रा : कात्र्तिक शुक्ल पूर्णिमादेखि कात्र्तिक कृष्ण तृतीयासम्म मनाइने, राजा भूपालेन्द्र मल्लको पालामा शुरुवात, पूर्णिमाका दिन धुनी जगाइने, प्रतिपदाका दिन अमालकोटबाट पूजा र जात्राको शुरुवात गराइने, द्वितीयाका दिन टोल टोलमा खटजात्रा गरी पशुपतिनाथमा ल्याइने, साँझ अमालकोटबाट सिन्दुर चढाई जात्रा विर्सजन, तृतीयाका दिन सिन्दुर जात्रा ।

 

गुह्येश्वरी जात्रा : मार्ग कृष्ण अष्टमी, नवमी, दशमी, राजा जगज्जय मल्लद्वारा ने.सं. ८४८ मा शुरुवात, अष्टमीमा हनुमानढोका तलेजुका पूजारी गुह्येश्वरीमा आई निम्तो दिने, नवमीका दिन गुह्येश्वरीमा लिङ्गो ठड्याइने, काठमाडौं हनुमानढोका तलेजुबाट गुह्येश्वरी र भैरवको प्रतिमूर्ति खटमा ल्याई गुह्येश्वरीमा पञ्चबलीसहित पूजा, दशमीको दिन समयबजी चढाई क्षमा पूजा, साँझ सार्दूल जङ्गका सिपाहीले सलामी दिई खट उठाउँदा लिङ्गो ढालिने, गुह्येश्वरीको खट पशुपति महास्नान घर अगाडि ल्याई पूजा गरी पशुपतिनाथ परिक्रमा गराई पुनः खटलाई हनुमानढोका पुर्याइने ।

 

नवदुर्गा नाच : भाषा वंशावलीमा ने.सं. ६३३ मा राजा भूवन मल्लको पालामा शुरु, पाशुपत क्षेत्रमा मार्ग शुक्ल नवमी, दशमीमा नचाइने, भक्तपुरका बनमाला खलः द्वारा नाचिने नवदुर्गासहित तेह्र गण भक्तपुरबाट पैदल ठिमी, सिनामङ्गल हुँदै आई पाशुपत क्षेत्रमा जयवागेश्वरी सत्तलमा खर्पन बिसाउने, पशुपतिनाथ मन्दिरमा बाहेक जयवागेश्वरी, घ्याम्पेपाटी तथा नवदुर्गा चोकमा सुँगुरको बलि पूजा गरी नचाइने । दशमीको दिन देउपाटनका स्थानीयद्वारा पूजा, ङालाकेगु नाच देखाई नाचको समापन गरिने ।

 

हरसिद्धि नाच : दैत्यहरूले देवताहरूलाई दुःख दिएपछि शिवले पार्वतीलाई असुरको नाश गर्न दिएको आदेश अनुरुप हरको इच्छा सिद्ध गरेको हुँदा हरसिद्धि नाच भनिएको, बाह्र बाह्र वर्षमा देखाइने नाच मार्ग शुक्ल नवमीमा नचाइने, लामो समयपछि वि.सं. २०६७ मा नचाइएको, भण्डारखाल वगैंचामा अवस्थित देवीदेवताको पूजा गरेर मुकुट, वस्त्र धारण गरी नाचको शुरुवात गरिने, पहिले तीन महिना नचाइने नाच हाल सानो सदावर्त, पशुपतिनाथ प्राङ्गण, मूल भट्टको निवास तथा देउपाटन विभिन्न क्षेत्रमा सात दिनसम्म नचाइने ।

 

माधवनारायण यात्रा : माघ कृष्ण चतुर्दशीका दिन साँखु शालिनदीमा माधवनारायणको व्रत बस्ने व्रतालुहरू माधवनारायणको खटसहित पशुपतिनाथ आई महास्नान घरमा बस्ने, भोलिपल्ट औंसीका दिन माधवनारायणसहित वाग्मतीमा गई स्नान तथा पूजा गरी पशुपतिनाथको परिक्रमा गर्दै जयवागेश्वरी पुग्दा विशेष पूजा गरिने ।

 

भीमसेन जात्रा : माघ शुक्ल एकादशी, द्वादशी, पशुपतिनाथ मन्दिरको पश्चिम चौबाटो भीमसेन मन्दिर गुठीका वैद्य, विशेत, भण्डारी गुठीयारहरूले आ–आफ्ना गुठीमा रहेका भीमसेनका मूर्ति ल्याई मन्दिरमा राखी पूजा, रातभर धुनी जगाइने, भोलिपल्ट द्वादशीका दिन अमालकोटबाट बाजागाजा सहित रैरकमी गई भीमसेनको जात्रा गरेपछि गुठीयारले आ–आप्mनो द्यःछेंमा भीमसेन लैजाने ।

 

दूदू च्याँ च्याँ : चैत्र कृष्ण अष्टमी, भाषा वंशावलीमा राजा भूपालेन्द्र मल्लको पालामा शुरुवात, इन्द्रायणीका भक्तले इन्द्रायणीको जात्रा गर्छु भन्दा तिनले वत्सलेश्वरी उपत्यकाका देवीहरूकी दिदी हुँदा तिनको जात्रा गर भन्दा वत्सलेश्वरीले पशुपतिनाथले उनका सबै  बहिनीलाई निम्तो गरे मात्र आपूm जात्रा गर्न मान्ने भनेपश्चात् वत्सलेश्वरी जात्रा गरिएको, उनको जात्रा शुभारम्भ भएपछि मात्र अन्य देवीहरुको जात्राको शुरुवात हुने । वत्सलेश्वरीका बहिनीहरूलाई दूध खाने बालकसहित भगवान पशुपतिको तर्पmबाट निमन्त्रणा दिने जात्रा दूदू च्याँ च्याँ, भगवान पशुपतिनाथको प्रतिमूर्तिलाई खटमा राखी पशुपतिनाथका एक भट्ट (मूल बाहेक), रैरकमीका साथ भूवनेश्वरी, जयवागेश्वरी, भण्डारेश्वर, नक्साल भगवाती, इन्द्रचोक, हनुमानढोका, जैसीदेवल, पचली भैरव हुँदै नरदेवी पुगी भट्टद्वारा नरदेवीको तर्पmबाट भगवान पशुपतिनाथको पूजा गरी फर्किने ।

 

देशोद्धारपूजा, वज्रेश्वरी तथा वत्सलेश्वरी जात्रा : चैत्र कृष्ण द्वादशी, घण्टाकर्ण राक्षसको ज्याजतीबाट मुक्ति पाउन ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र मिली देशको उद्धारका निम्ति पूजा गरिने नै देशोद्धार पूजा, चैत्र कृष्ण त्रयोदशी, चतुर्दशी, दिदी वत्सलेश्वरीको पूजा भएपछि मात्र वज्रेश्वरीको पूजा हुने, कुमार, कुमारी खुवाउने, डंगोल गुठीयारबाट वज्रेश्वरीको प्रतिमूर्तिलाई तिलगंगाका हरिजनहरूले तिलगङ्गा लाने, वत्सलेश्वरीमा आठ गुठी (सिन्दुर, चन्दन, ध्वों, वज्रेश्वरी, आकाश भैरव, बालादैत्य, कोटेश्वरी र क्वाची) का तर्पmबाट जापाय, बलि पूजा, कुमार, कुमारी खुवाउने, रातभर तान्त्रिक विधिले पूजा, चैत्र कृष्ण औंसी, वज्रेश्वरी जात्राको समापन पछि वत्सलेश्वरी जात्रा शुरु गरी नवालीटोलमा राखिने, चैत्र शुक्ल प्रतिपदा पशुपतिमा ल्याई वत्सलेश्वरीको खट फिर्ता, नक्साल भगवतीको खट ल्याइने र चैत्र शुक्ल द्वितीया वत्सलेश्वरीको खट चावहिल चन्द्र विनायकबाट पशुपतिनाथमा फिर्ता, भट्टद्वारा सिन्दुर अर्पण, सिन्दुर जात्रा, राती जापाय गरी वत्सेश्वरी जात्रा समापन ।